

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी प्रदर्शनमा भएका घटनाको नैतिक जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका छन्।
आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले शुक्रबारको घटनामा पूर्वराजा शाह पूर्ण रूपमा दोषी रहेको बताए। “पूर्वराजालाई संविधानले साधारण नागरिकभन्दा बढी सुविधा दिएको भए पनि उनले त्यसको सम्मान गर्न सकेनन्,” शर्माले भने।
उनले पूर्वराजाले हिंसात्मक प्रदर्शनको जिम्मेवारी लिनुपर्ने भन्दै प्रश्न गरे, “आज पूर्वराजाले नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन? मान्छे मारिएको घटनामा बोल्नुपर्छ कि पर्दैन? पत्रकारसमेत मारिँदा दु:ख लागेको भनेर विज्ञप्ति पठाउनुपर्छ कि पर्दैन?”
साथै, उनले मुलुकमा भएका घटनाबारे संसद्मा छलफल गर्न नपाउने अवस्था सिर्जना भएको भन्दै असन्तुष्टि जनाए। “प्रधानमन्त्रीले सदनमा जवाफ दिने भनिसक्दा पनि सदन अवरुद्ध गर्नु उचित हुँदैन,” शर्माको भनाइ छ।