

काठमाडौं – साताको पहिलो दिन आइतबार सेयर बजारमा २९.८२ अंकको वृद्धि भएको छ। यो वृद्धिसँगै नेप्से परिसूचक २६९३ अंकमा पुगेको छ।
दिउँसो कारोबारका क्रममा एक समय नेप्से २७१८ अंकसम्म पुगेको थियो। तर, बजार लगातार दुई दिनसम्म बढेकाले मध्यान्हतिर केही लगानीकर्ताले नाफा सुरक्षित गर्ने रणनीति अपनाए, जसका कारण बजारमा केही बिक्री चाप देखियो।
आजको कारोबार रकम पनि उल्लेख्य रूपमा वृद्धि भएको छ। अघिल्लो दिन ५ अर्ब २२ करोडको कारोबार भएकोमा आइतबार ७ अर्ब ५६ करोड पुगेको छ। २२२ कम्पनीको सेयर मूल्य बढ्दा २२ कम्पनीको घटेको छ।
सेक्टरगत रूपमा अधिकांश परिसूचक हरियो रहे। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा, र अन्य सेक्टर सकारात्मक रहे। तर, व्यापार समूहमा ०.२६ प्रतिशतको गिरावट आयो।
जोशी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.९४ प्रतिशतले बढ्यो। त्यस्तै, दोर्दी खोला हाइड्रोपावर ६.५९ प्रतिशत, गुराँस लघुवित्त ५.९५ प्रतिशत, र तेह्रथुम पावर ५.८७ प्रतिशतले वृद्धि भए।
उता, सयपत्री हाइड्रोपावर ५.७९ प्रतिशत र सामुदायिक लघुवित्त २.२१ प्रतिशतले घटे।
आज धेरै कारोबार भएका कम्पनीहरूमध्ये हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स अग्रस्थानमा रहे।