

काठमाडौं । म्यानमारमा शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ७०४ पुगेको छ। युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे (यूएसजीएस) ले हजारौंको ज्यान जान सक्ने आकलन गरेको छ।
भूकम्पको धक्का थाइल्याण्ड, बंगलादेश, चीन र भारतसम्म महसुस गरिएको थियो। म्यानमारको सैनिक सरकारले हालसम्म ६९४ जनाको मृत्यु पुष्टि गरेको छ भने १,६७० जना घाइते भएका छन्। थाइल्याण्डमा पनि १० जनाको ज्यान गएको छ।
यो भूकम्प म्यानमार र थाइल्याण्डमा पछिल्ला २०० वर्षयताकै सबैभन्दा ठूलो मानिएको छ। भूकम्पका कारण म्यानमारका ६ राज्य र थाइल्याण्डभरि आपत्काल घोषणा गरिएको छ।
रेडक्रसले माण्डले, सागाइङ र दक्षिणी शान राज्यमा बिजुली आपूर्ति अवरुद्ध भएकाले राहत तथा उद्दारमा कठिनाइ भइरहेको जनाएको छ। प्रभावित क्षेत्रमा मानवीय सहायता जुटाउन थप विवरण संकलन भइरहेको छ। रेडक्रसले म्यानमार र थाइल्याण्डका पीडितहरूलाई सहयोगस्वरूप डेढ लाख डलर प्रदान गर्ने जनाएको छ, जसबाट भोजन, पानी, कम्बल, तिरपाल र हाइजिन किट वितरण गरिनेछ।
यूएसजीएसका अनुसार, मुख्य भूकम्पपछि म्यानमारमा १४ पटक परकम्प गइसकेका छन्, जसमध्ये सबैभन्दा शक्तिशाली ६.७ म्याग्निच्युडको थियो।