

काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब शनिबार आमनेसामने हुने भएका छन्।
भैरहवास्थित सिद्धार्थ रंगशालामा बिहान ९ बजे सुरु हुने फाइनल खेलमा साविक विजेता पुलिसले उपाधि रक्षा गर्ने लक्ष्य लिएको छ भने आर्मीले अघिल्लो वर्षको पराजयको बदला लिने अवसर खोज्नेछ।
गत फागुन २५ देखि लुम्बिनी प्रदेशका विभिन्न मैदान भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमाको एक्स्ट्राटेक ओभल, र दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलहरू सम्पन्न भएका थिए।
शुक्रबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा दुबै टिमका कप्तान पुलिसका दीपेन्द्रसिंह ऐरी र आर्मीका विनोद भण्डारीले उपाधि भिडन्तका लागि टिम पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताए। उनीहरूले प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
“यसपटकका खेलहरू काठमाडौं बाहिर हुँदा क्रिकेटमा नयाँ उत्साह थपिएको छ,” आर्मीका कप्तान भण्डारीले भने। त्यस्तै, पुलिसका कप्तान ऐरीले, “लुम्बिनी प्रदेशका मैदानहरूमा खेल्दा स्थानीय खेलाडी र क्रिकेटप्रेमीहरूमा पनि उत्साह थपिएको छ,” भने।
प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबले दुई पटक उपाधि जितेको छ भने आर्मीले एक पटक मात्रै उपाधि हात पारेको छ। गत वर्षको फाइनलमा आर्मीलाई हराउँदै पुलिस च्याम्पियन बनेको थियो।
प्रतियोगिताका कुल ४६ खेलमध्ये ४५ खेल सकिएको छ। दुबै टिमले समान ९ खेल खेलेका छन्, जसमा ८ खेल जितेका छन्। रनरेटका आधारमा आर्मी शीर्ष स्थानमा छ भने पुलिस दोस्रो स्थानमा रहेको छ।