तीनकुनेमा राजावादीको अराजकता चरमोत्कर्षमा : प्रचण्ड

तीनकुनेमा राजावादीको अराजकता चरमोत्कर्षमा : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनकुनेमा राजावादीहरूले अराजकताको चरम सीमा पार गरेको आरोप लगाएका छन्।

बुधबार प्रदर्शनीमार्गमा आयोजित समाजवादी मोर्चाको सभामा सम्बोधन गर्दै उनले गणतन्त्रको पक्षमा गरिएको प्रदर्शनलाई विथोल्ने उद्देश्यले राजावादीहरूले हिंसात्मक गतिविधि गरेको बताए।

“गणतन्त्र पक्षधर समाजवादी मोर्चाले सभा गर्ने घोषणा गरेको थियो, तर राजावादीहरूले पनि त्यही दिन प्रदर्शन राखे,” प्रचण्डले भने, “१२ वर्षसम्म कुकुरको पुच्छर ढुंग्रोमा हालेर पनि सोझो नहुने जस्तै अवस्था देखियो। तीनकुनेमा प्रतिगामीहरूले घरमा आगजनी गर्ने, प्रहरीमाथि आक्रमण गर्ने र अराजकता फैलाउने काम गरे।”

उनले गणतन्त्र पक्षधरको शान्तिपूर्ण प्रदर्शनलाई तुलना गर्दै राजावादी प्रदर्शनलाई हिंसात्मक र अव्यवस्थित भने।