अवरुद्ध प्रतिनिधिसभा बैठक आज पुनः बस्दै

अवरुद्ध प्रतिनिधिसभा बैठक आज पुनः बस्दै

काठमाडौं । लगातार दुई दिनदेखि अवरुद्ध भइरहेको प्रतिनिधिसभा बैठक आज (शुक्रबार) पुनः बस्ने भएको छ । संघीय संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सुरु हुनेछ ।

आजको बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात तथा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने सम्भावित कार्यसूची रहेको छ ।

साथै, ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित टेबुल गरिनेछ । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्नेछन् भने उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक, २०८१’ दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसअघि बिहीबारका लागि तय गरिएको बैठक निर्धारित समयभन्दा पछि सारिएर दिउँसो २ बजे बोलाइए पनि अन्ततः बस्न सकेन । त्यसपछि बैठक स्थगित गर्दै शुक्रबार बिहान ११ बजेसम्मका लागि सारिएको थियो ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोधमा संसद् बैठक बुधबारदेखि अवरुद्ध हुँदै आएको छ ।