

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित ‘संयुक्त जनआन्दोलन समिति’ले चैत २१ गतेदेखि आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ।
बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक नवराज सुवेदीले सरकारलाई शान्तिपूर्ण आग्रहलाई बेवास्ता नगर्न चेतावनी दिँदै आन्दोलनलाई क्रमशः तीव्र बनाइने जानकारी गराए।
उनका अनुसार चैत १६ गते तीनकुनेमा प्रदर्शन गरिनेछ। घोडेजात्राका कारण उपत्यकामा सो दिन कुनै अन्य कार्यक्रम नराखिएको बताउँदै उनले चैत १७ गतेदेखि आन्दोलनका थप चरणबद्ध कार्यक्रमहरू गरिने बताए।
“एक हप्ताभित्र सरकारले हाम्रो मागहरूलाई बेवास्ता गरेमा चैत २१ गतेबाट आन्दोलनलाई सशक्त बनाउँदै लैजान बाध्य हुनेछौँ। त्यसबाट उत्पन्न हुने नतिजाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ,” सुवेदीले भने।
उनले नवगठित संयुक्त जनआन्दोलन समितिमा ‘जनकमाण्डर’ को जिम्मेवारी दुर्गा प्रसाईंलाई दिइएको पनि घोषणा गरे।