पदमुक्त गरिएका कुलमान घिसिङको रिट सर्वोच्चमा दर्ता, सुनुवाइ शुक्रबार

पदमुक्त गरिएका कुलमान घिसिङको रिट सर्वोच्चमा दर्ता, सुनुवाइ शुक्रबार

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। बिहीबार दर्ता भएको रिटमा उनले सरकारको निर्णय बदर गरी आफूलाई पुनः कार्यकारी निर्देशकमा फर्काउन माग गरेका छन्।

रिट निवेदनमा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दीपक खड्का, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन्।

“कुनै गल्ती वा त्रुटि नगरेको अवस्थामा सरकारले बदनियतपूर्ण रूपमा स्पष्टीकरण सोध्दै गलत ढंगले पदमुक्त गरेको छ,” घिसिङले निवेदनमा जिकिर गरेका छन्।

सर्वोच्च अदालत प्रशासनले उनको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि शुक्रबारको मिति तोकेको छ।