

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र द्वन्द्वलाई ‘राष्ट्रिय गल्ती’को संज्ञा दिँदै त्यसबाट पाठ सिक्नुपर्ने बताएका छन्।
नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले द्वन्द्वका कारण हजारौं जनता पीडित हुनुपरेको उल्लेख गरे।
“त्यो एउटा राष्ट्रिय गल्ती थियो, त्रुटि थियो। त्यसलाई सच्याउनुपर्छ,” उनले भने।
उनले द्वन्द्वका घाउमा मलम लगाउने साटो हिंसालाई महिमामण्डन गरिनु गलत भएको धारणा राखे। “हामी किन अनावश्यक हिंसालाई ग्लोरिफाई गरिरहेका छौँ?” भन्दै उनले द्वन्द्वले देशलाई ठूलो मूल्य चुकाउन बाध्य बनाएको बताए।
प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माण भइसकेको भन्दै अब काम अघि बढ्ने विश्वास व्यक्त गरे। उनले विगतमा सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग प्रभावकारी हुन नसकेको स्वीकार्दै “आयोगहरू सफल हुन सकेनन्, दुर्भाग्यको कुरा हो,” भने। तर, अब बन्ने आयोगहरू प्रभावकारी हुनेमा उनले विश्वास व्यक्त गरे।
उनले शान्ति प्रक्रियालाई अब कुनै पनि हालतमा टुंगोमा पुर्याउनु पर्नेमा जोड दिँदै “पीडितको घाउमा मलम लगाउनु हाम्रो मुख्य जिम्मेवारी हो,” भने।
प्रधानमन्त्री ओलीले द्वन्द्व पीडितहरूलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको बताउँदै सबै पक्षलाई शान्ति प्रक्रिया सफल पार्न योगदान दिन आग्रह गरे। “म श्रेयको भोकमा छैन, शान्ति प्रक्रियालाई मात्र सफल पार्न चाहन्छु,” उनले थपे।