

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय आपत्तिजनक भएको जनाएको छ।
मंगलबार पार्टी प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै सो निर्णय बदनियतपूर्ण भएको आरोप लगाए।
‘बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘इमानदार र निष्ठाका साथ काम गर्ने प्रशासकमाथि मनोवैज्ञानिक त्रास सिर्जना गर्ने उद्देश्यले सरकारले घिसिङलाई हटाएको छ।’
माओवादी केन्द्रले सरकारको निर्णय तत्काल फिर्ता लिन माग गर्दै आम नागरिकमा भ्रम सिर्जना गर्न दुष्प्रचार नगर्न चेतावनी दिएको छ। पार्टीले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा मेलमिलाप आयोग गठनसम्बन्धी सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति गरिएको प्रचारलाई खारेज गर्ने बताएको छ।