

वीरगञ्ज : आइसिसी यू-१९ विश्वकप छनोटको तयारी गरिरहेको नेपाली युवा टोलीले अभ्यास खेलमा भारतको दिल्ली यू-१९ टोलीलाई ५ विकेटले पराजित गरेको छ।
वीरगञ्जमा भएको खेलमा दिल्लीले दिएको ९६ रनको लक्ष्य नेपालले ३१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। नेपालका अमर मिश्रले सर्वाधिक २७ रन बनाए भने रोशन विकले २५, कप्तान नरेन भट्टले १८ र सिब्रिन श्रेष्ठले १७ रनको योगदान दिए।
यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको दिल्ली २३ ओभर २ बलमा ९५ रनमै समेटिएको थियो। दिल्लीका साथक पालले २९ रन बनाए।
नेपालका बलरहरू उत्कृष्ट लयमा देखिए, जसमा सिब्रिन श्रेष्ठ र अपराजित पौडेलले ३-३ विकेट लिए भने विपिनप्रसाद शर्मा र अशोक धामीले २-२ विकेट लिए।
नेपालले दिल्लीसँग तीन खेलको अभ्यास सिरिज खेलेपछि अफगानिस्तानसँग तीन खेलको अर्को अभ्यास सिरिज खेल्नेछ, जुन चैत २१ देखि मुलपानीमा सुरु हुनेछ।
नेपालले आगामी चैत अन्तिम सातादेखि आइसिसी यू-१९ विश्वकप एसिया छनोट आयोजना गर्दैछ, जसमा नेपालसहित अफगानिस्तान, युएई, हङकङ र ओमानले प्रतिस्पर्धा गर्नेछन्।