

काठमाडौं । नेकपा एमालेले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो पार्टी र सरकार प्रतिबद्ध रहेको जनाएको छ। सोमबार जारी विज्ञप्तिमा एमाले महासचिव शंकर पोखरेलले कुनै पनि विषय कूटनीतिक माध्यमबाट समाधान गरिने र दुई देशबीचको विकास साझेदारीलाई बलियो बनाइने उल्लेख गरेका छन्।
परराष्ट्र नीति र बाह्य सम्बन्धजस्ता संवेदनशील विषयमा समाचार वा टिप्पणी गर्ने क्रममा पार्टीको आधिकारिक धारणा बुझ्न सञ्चारमाध्यमलाई आग्रह गर्दै उनले केही स्वदेशी तथा विदेशी सञ्चारमाध्यमहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइलाई तोडमोड गरी गलत सन्देश प्रवाह गरेको बताए।
‘यस्ता समाचारले अनावश्यक सनसनी फैलाउने र नेपाल–भारतको ऐतिहासिक सम्बन्धमा आशंका सिर्जना गर्ने दुराशय बोकेका छन्,’ पोखरेलले भने।
एमालेले नेपालको संविधान र लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सार्वभौम निर्णय भएको स्पष्ट पार्दै दुई देशबीचको सम्बन्धलाई पारस्परिक सम्मानका आधारमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।