

काठमाडौं । नेपाली कांग्रेसले हाल सडक आन्दोलनको आवश्यकता नरहेको निष्कर्ष निकालेको छ। आइतबार सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जनताको आवश्यकता र समस्या संविधानमार्फत समाधान गर्न सकिने धारणा व्यक्त गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
बैठकमा वर्तमान राजनीतिक परिस्थितिमा कुनै प्रकारको शक्ति प्रदर्शन आवश्यक नरहेको निष्कर्ष निकालिएको थियो। महतले भने, “जनताले संविधान सभा मार्फत निर्माण गरेको संविधान नै समाधानको आधार हो, त्यसैले आन्दोलन गर्नु आवश्यक छैन।”
यसैबीच, राजावादी र समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा प्रदर्शनको तयारी गरिरहेका छन्। तर, कांग्रेसले जनताले स्वीकृत गरेको व्यवस्थालाई लिएर सडकमा जाने औचित्य नरहेको स्पष्ट पारेको छ।
राजसंस्थाबारे भइरहेको बहसबारे पार्टी सभापति शेरबहादुर देउवाको अभिव्यक्तिअनुसार अघि बढ्ने निर्णय बैठकले गरेको छ। देउवाले यसअघि भनेका थिए, “संवैधानिक राजतन्त्रको पुनरागमन सम्भव छैन। यदि पूर्वराजाले राजनीति गर्न चाहेका हुन् भने, राप्रपाको नेतृत्व लिन सक्छन्।”
बैठकमा सरकारका कामलाई अझ प्रभावकारी बनाउन आवश्यक रणनीति अपनाउनेबारे समेत छलफल भएको महतले जानकारी दिए।