सरकारले राष्ट्रपति समक्ष बुझायो वार्षिक प्रतिवेदन

सरकारले राष्ट्रपति समक्ष बुझायो वार्षिक प्रतिवेदन

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छ ।

आइतबार शितल निवासमा नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत कार्यक्रममा राष्ट्रपति पौडेलले मुलुकको बिकास र समृद्धिको उदेश्य प्राप्तिका साथै दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माणमा सरकारको तदारूकता आवश्यक रहेको बताए । उनले मुलुकमा उपलब्ध श्रोत साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो बिकास हुने बताए ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको मुलभूत मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानु पर्ने उल्लेख गरे ।उनले आगामी दिनमा संविधानको मर्म र भावना बमोजिमका काम कारवाहीहरू क्रमिक र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार अझ सक्रिय र क्रियाशील रहने विश्‍वास लिएको बताए ।

सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले जनतालाई राजनीतिक परिवर्तनको अनुभूति गराउन सरकार गम्भीर रहेको बताए । उनले आर्थिक अवस्थामा देखापरेको असहज परिस्थीतिले परेको दवाव कम गर्न सरकारले प्रयास गरेको र केहि उपलव्धी हासिल भएको उल्लेख गरे । सरकारले लिएको नीतिका कारण समयमा नै विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलव्ध गराउन सफल भएको, किसानलाई मल उपलव्ध गराइएको र मलको अभाव हुन नदिन प्रयाप्त बजेट छुट्याइएको उनले बताए ।

त्यस्तै प्रधानमन्त्री ओलीले नागरिक एपमार्फत सेवा प्रदान गरिएको, नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्रलगाएत लिनका लागि घण्टौ लाइन बस्नुपर्ने व्यवस्था अन्त्य गरिएको, मिटरव्याज समस्यालाई दिर्घकालीन समाधान गर्न पहलकदमी लिइएको जानकारी दिए। देशभित्र लगानी बृद्धि र समृद्धि सुशासन तथा सामाजिक न्यायको लक्ष्य पुरा गर्न थप मेहनतका साथ वर्तमान सरकार अघि बढेको उनको भनाइ छ ।