

लन्डन – लन्डनको हिथ्रो विमानस्थल १८ घण्टापछि पुनः सञ्चालनमा आएको छ। बिजुली सबस्टेसनमा भएको आगलागीका कारण हवाई यातायात ठप्प हुँदा हजारौं यात्रु प्रभावित भएका थिए।
शुक्रबार राति पहिलो विमान अवतरण गर्दै विमानस्थल पुनः सञ्चालनमा आएको हो। हिथ्रो युरोपकै सबैभन्दा व्यस्त विमानस्थल भएकाले यसको बन्दले हजारौं यात्रुको यात्रा प्रभावित बनाएको थियो।
फ्लाइट ट्र्याकिङ सेवा फ्लाइटराडार २४ का अनुसार, हिथ्रोमा अवतरण वा प्रस्थान गर्ने कम्तीमा १,३५० उडान प्रभावित भएका छन्। कतिपय यात्रुहरू आफ्नो यात्रा पुनः तालिकाबद्ध गर्न संघर्ष गरिरहेका छन् भने एयरलाइन्सहरू विमान र चालक दल व्यवस्थापन गर्न जुटिरहेका छन्।
अमेरिकाको आयोवाबाट आएकी २१ वर्षीया ब्यू महरले भनिन्, “सुरुमा यो अनुभव रोमाञ्चक लागे पनि केही घण्टामै निकै तनावपूर्ण बन्यो।” अन्य मुलुकबाट आउने यात्रुहरू पनि गन्तव्यमा पुग्न र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न कठिनाइ झेलिरहेका छन्।
हिथ्रो वरपर होटलहरूको भाडा पाँच गुणाले वृद्धि भएको छ। हिथ्रो व्यवस्थापनले यात्रुहरूलाई विमानस्थलमा नआउन तथा आफ्नो यात्रा सम्बन्धी जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न अनुरोध गरेको छ।
शुक्रबार मात्रै हिथ्रो विमानस्थलबाट १,३५१ उडानमार्फत २ लाख ९१ हजार यात्रु ओसारपसार गर्ने योजना थियो। तर, आकस्मिक बन्दपछि अन्य देशबाट आउने विमानहरू बेलायत र छिमेकी मुलुकका विमानस्थलमा अवतरण गराइएको थियो।
लामो दूरीका कैयौं उडान बीच बाटोमै फिर्ता हुनुपरेको छ। यस घटनाले लाखौं यात्रुलाई असहज बनाउनुका साथै एयरलाइन्स कम्पनीहरूलाई ठूलो आर्थिक नोक्सानी पुर्याएको छ।