संसद्‌मा विचाराधीन विधेयक शीघ्र टुंग्याउने प्रयासमा छौँ : सभामुख घिमिरे

संसद्‌मा विचाराधीन विधेयक शीघ्र टुंग्याउने प्रयासमा छौँ : सभामुख घिमिरे

काठमाडौं – सभामुख देवराज घिमिरेले संसद्मा विचाराधीन विभिन्न विधेयकहरू चाँडो टुंग्याउने प्रक्रिया तीव्र भइरहेको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले निजामती सेवा, प्रहरी तथा विद्यालय शिक्षासम्बन्धी विधेयकहरू शीघ्र टुंगो लगाउन आफूहरू लागिपरेको बताएका हुन्।

“संसद्मा विचाराधीन यी विधेयकहरू छिट्टै निष्कर्षमा पुर्‍याउने प्रयास भइरहेको छ,” उनले भने, “यसले केही हदसम्म मार्गप्रशस्त गर्नेछ भन्ने आशा छ।”

संविधानले प्रदत्त अधिकार पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै उनले संघीय निजामती सेवा ऐनको अभावले प्रशासनिक संघीयता कमजोर बनाएको जनगुनासो बढिरहेको उल्लेख गरे।

संविधानले अधिकार विकेन्द्रीकरण गरे पनि व्यवहारमा केन्द्रीकरण बढ्दै गएको बताउँदै उनले योजना तर्जुमा र बजेट वितरण संघमै सीमित रहनु संघीयताको मर्मविपरीत भएको धारणा राखे।

संघीयतालाई मजबुत बनाउन अन्तरप्रदेश परिषद्, अन्तरसरकारी वित्त परिषद् र राष्ट्रिय समन्वय परिषद्लाई सक्रिय बनाउनु आवश्यक रहेको उनले औंल्याए। साथै, संघीयताको विकल्प खोज्नुको सट्टा यसलाई सबल बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए।

सभामुख घिमिरेले वित्तीय संघीयताको पक्ष सन्तोषजनक रहेको पनि उल्लेख गरे।