प्रचण्डको दाबी: १५ चैतको प्रदर्शनपछि राजनीति सही ट्र्याकमा आउँछ

प्रचण्डको दाबी: १५ चैतको प्रदर्शनपछि राजनीति सही ट्र्याकमा आउँछ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी १५ गते काठमाडौंमा हुने जनप्रदर्शनपछि देशको राजनीति सही दिशा फर्कने दाबी गरेका छन्।

पर्साको ठोरी गाउँपालिकामा आयोजित जनसभामा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा हुने उक्त प्रदर्शनमा सर्वसाधारणलाई ठूलो संख्यामा सहभागी हुन आग्रह गरे।

‘हालको सरकार गलत दिशामा अघि बढिरहेको छ। त्यसलाई खबरदारी गर्दै सचेत गराउन आवश्यक छ,’ प्रचण्डले भने, ‘त्यसैले आगामी १५ गते हुने प्रदर्शनमा तपाईंहरूको व्यापक सहभागिता आवश्यक छ।’

उनले यो प्रदर्शनपछि देशमा पुनः जनताको पक्षमा काम गर्ने वातावरण बन्ने विश्वास व्यक्त गरे। ‘मलाई लाग्छ, १५ गतेको विरोध सभापछि मुलुकको राजनीति सही ट्र्याकमा फर्कनेछ,’ उनले भने, ‘जनताको हकहित सुनिश्चित गर्न फेरि एकपटक संघर्ष गर्न जरुरी छ, त्यसैले तपाईंहरू सबैलाई काठमाडौं आउन आह्वान गर्दछु।’