लेखा समितिमा आएका ४८ वटा उजुरी छानबिन गर्न उपसमिति गठन

लेखा समितिमा आएका ४८ वटा उजुरी छानबिन गर्न उपसमिति गठन

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ४८ वटा उजुरी छानबिन गर्न विभिन्न उपसमिति गठन गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको बैठकले सय उजुरीमध्ये छानबिन आवश्यक ठानिएका उजुरीहरू उपसमितिमार्फत अध्ययन गर्ने निर्णय गरेको हो।

समितिले टेलिकम, दूरसञ्चार र टेलिभिजनसम्बन्धी उजुरी छानबिनका लागि मनिष झा नेतृत्वमा उपसमिति गठन गरेको छ। यस उपसमितिमा अच्युत मैनाली र अर्जुननरसिंह केसी सदस्य छन्।

त्यस्तै, अर्थ मन्त्रालय, गैरकानूनी बीमा, मोबाइल बैंकिङ र एमसीसीसम्बन्धी उजुरी अध्ययन गर्न गोकुल बाँस्कोटाको नेतृत्वमा उपसमिति गठन गरिएको छ, जसमा रामकृष्ण यादव र अमेरश कुमार सिंह सदस्य रहेका छन्।

अन्य उपसमिति निम्नानुसार गठन भएका छन् :

-संस्कृति, पर्यटन र परराष्ट्र मन्त्रालयसम्बन्धी उजुरी : लेखनाथ दाहाल नेतृत्वमा

-विद्युत प्राधिकरण तथा सहरी विकास मन्त्रालयसम्बन्धी उजुरी : प्रेम आले नेतृत्वमा

-सहकारी, वैदेशिक रोजगार तथा धितोपत्रसम्बन्धी उजुरी : सञ्जय गौतम नेतृत्वमा

-खेलकुद, नेपाल स्काउट र गैरकानूनी सरकारी जग्गासम्बन्धी उजुरी : देवप्रसाद तिमल्सिना नेतृत्वमा (सदस्य: हरि ढकाल र राजेन्द्र लिङदेन)

-स्वास्थ्य मन्त्रालय, क्रसर र केन्द्रीय अनुसन्धान ब्युरोसम्बन्धी उजुरी : तारा लामा नेतृत्वमा (सदस्य: जनार्दन शर्मा र अशिम शाह)

यस्तै, बैठकले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा अध्ययन गरिरहेको उपसमितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। समिति सभापति ऋषिकेश पोखरेलकाअनुसार यी उपसमितिहरू सम्बन्धित क्षेत्रका उजुरीको गहिरो अनुसन्धान गरी प्रतिवेदन पेस गर्नेछन्।