२५ करोड अवैध मुद्रा प्रकरण: सांसद खतिवडाले गरे छानबिनको माग

२५ करोड अवैध मुद्रा प्रकरण: सांसद खतिवडाले गरे छानबिनको माग

काठमाडौं । नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले २५ करोड बराबरको अवैध मुद्रा बरामद प्रकरणमा गहिरो छानबिन हुनुपर्ने माग गरेका छन्।

बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्ता घटनामा साना मान्छे—भरिया र ड्राइभर मात्र पक्राउ पर्ने तर वास्तविक मालिकहरू उम्कने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्।

“नेपाल सरकारले सिन्धुपाल्चोकका कुसान लामा नामक चालक सवार ट्रकबाट २५ करोड बराबरको विदेशी मुद्रा बरामद गरेकोमा धन्यवाद दिन चाहन्छु। तर, मुख्य योजनाकारलाई पक्राउ गर्न नसके अनुसन्धान अपूर्ण रहन्छ,” उनले भने।

खतिवडाले सुन तस्करीका अघिल्ला घटनाहरूमा पनि भरियाहरू मात्रै पक्राउ पर्ने तर योजनाकारहरू उम्कने गरेको उदाहरण प्रस्तुत गर्दै सरकारलाई वास्तविक नाइके पहिचान गर्न आग्रह गरे।

सोमवार राति काठमाडौंको टोखाबाट प्रहरीले २५ करोड बराबरको विदेशी मुद्रा बरामद गरेपछि यो मुद्दा संसदमा उठेको हो। यसअघि माओवादी सांसद माधवप्रसाद सापकोटाले पनि घटनाको विशेष छानबिन समिति गठन गर्न माग गरेका थिए।