धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिलाई हराउन वाम गठबन्धनले आफ्नो मत खन्याएको छ।
गठबन्धनले बिहीबार सम्पन्न निर्वाचनमा कांग्रेस नेता निधिलाई पराजित गर्न राजपाका उम्मेदवार राजेन्द्र महतोलाई समर्थन गर्ने निर्णय गरे अनुसार नै गठबन्धनका नेता कार्यकर्ताले राजपा उम्मेदवारलाई मत दिएका छन्।
अहिलेसम्म गणना भएको ५३ हजार ७ सय ३५ मतमध्ये महतोले २५ हजार ३ सय ११ मत ल्याएर अग्रता लिएका छन् भने उनलाई कांग्रेसका निधिले २३ हजार २९ मत ल्याएर पछ्याइरहेका छन्। गठबन्धनका तर्फबाट माआवादीका रामसिंह यादवले भने जम्मा १९ सय ४२ मत ल्याएका छन्।
तर प्रदेशसभा तर्फको मतगणनामा भने एमाले र माओवादीका साझा उम्मेदवारले कुल ४८ सय ५८ मत ल्याएका छन्। प्रदेशसभा तर्फ उनीहरुले ल्याएको मतबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार यादवले ल्याएको मत घटाउँदा २९१६ मत निधिको विरुद्धमा गएको देखिन्छ। त्यहि मतका अाधारमा महताेले अग्रता लिइरहेकाे तथ्यांकले देखाएकाे छ।