पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचन मतपत्र त्रुटि प्रकरणले मतदान रोकियो

पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचन मतपत्र त्रुटि प्रकरणले मतदान रोकियो

पोखरा । त्रिभुवन विश्वविद्यालयअन्तर्गत पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि छापिएको मतपत्रमा त्रुटि भएपछि मतदान रोकिएको छ। अखिल छैटौंको चुनाव चिह्न विना मतपत्र छापिएपछि विवाद उत्पन्न भएको हो।

मतपत्रमा त्रुटि देखिएपछि नयाँ मतपत्र छाप्ने तयारी भइरहेको निर्वाचन समिति संयोजक डा. रामचन्द्र पोखरेलले जानकारी दिए। बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान विवादका कारण अहिलेसम्म सुरू हुन सकेको छैन।

समानुपातिक तर्फको मतपत्रमा अखिल छैटौंको चुनाव चिह्न नदेखिएको भन्दै विद्यार्थी संगठनहरूले निर्वाचन समितिमाथि चुनाव प्रभावित गर्ने प्रयास गरेको आरोप लगाएका छन्। यसै विषयलाई लिएर विद्यार्थी संगठनहरू अहिले क्याम्पस बाहिर कोणसभा गर्दै तत्काल निर्वाचन गराउन दबाब दिइरहेका छन्।

पृथ्वीनारायण क्याम्पसमा ९ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। यसअघि नेकपा एमाले निकट अनेरास्ववियुले लगातार चुनाव जित्दै आएपनि यसपटक विभिन्न विद्यार्थी संगठनहरू आफ्नो पकड जोगाउने वा भत्काउने रणनीतिमा लागेका छन्।

स्ववियु सभापतिका लागि आठ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। अनेरास्ववियुबाट विष्णु पोखरेल, नेपाल विद्यार्थी संघबाट सुशील भट्टराई, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य)को संयुक्त प्यानलबाट सन्तोष पौडेल चुनावी मैदानमा छन्।

अखिल छैटौंबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङले उम्मेदवारी दिएका छन्। स्वतन्त्र उम्मेदवारका रूपमा विप्लवी न्यौपाने र कमल सुवेदी छन्, जसमा विप्लवीलाई राष्ट्रिय स्वतन्त्र पार्टी निकट विद्यार्थीहरूको समर्थन रहेको बताइएको छ।