अमेरिकाबाट ५६ दिनमा ४३ नेपाली डिपोर्ट

अमेरिकाबाट ५६ दिनमा ४३ नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाले पछिल्लो ५६ दिनमा ४३ नेपालीलाई डिपोर्ट गरेको छ। डोनाल्ड ट्रम्पले दोस्रोपटक राष्ट्रपति बनेपछि आप्रवासन नीति कडा बनाउँदै ती नेपालीलाई फिर्ता पठाइएको हो।

ट्रम्पले सन् २०२५ जनवरी २० मा राष्ट्रपति पदको शपथ लिएपछि हालसम्म ४३ जना नेपाली अमेरिका छोड्न बाध्य भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयकी सूचना अधिकारी सीता परियारले जानकारी दिइन्।

पछिल्लोपटक चैत २ गते एक नेपाली डिपोर्ट भएका छन्। ट्रम्प प्रशासनले अवैध आप्रवासीविरुद्ध कडा नीति अपनाउँदै एक हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजारभन्दा बढी आप्रवासीको सूची सार्वजनिक गरेको थियो।

गत फागुन २१ मा मात्र अमेरिकाले नौ नेपालीलाई डिपोर्ट गरेको थियो। अवैध रूपमा अमेरिका प्रवेश गरेका, बिना भिसा बसेका तथा गलत मनसायले बसोबास गरेका नेपालीलाई फिर्ता पठाइएको छ।

डिपोर्ट भएर फर्किएकालाई त्रिभुवन विमानस्थलमा प्रहरीलाई बुझाइने र आवश्यक अनुसन्धान गरिने अध्यागमन कार्यालयले जनाएको छ। सन् २०२४ मा विभिन्न देशबाट १,२२८ नेपाली डिपोर्ट भएका थिए, जसमा अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३५ थियो।