काठमाडौं : नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकमा निर्माणाधीन मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएको छ।
१०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट हिउँदयाममा ४० मेगावाटसम्म उत्पादन हुने भएकाले प्राधिकरणले शीघ्र सञ्चालनका लागि पहल गरेको हो। सुरुङ परीक्षणका क्रममा चुहावट देखिएपछि मर्मत कार्य तीव्र गतिमा भइरहेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले शनिबार प्रसारण लाइन र सबस्टेसन अनुगमन गर्दै बाँकी काम छिटो सम्पन्न गर्न निर्देशन दिएको छ।
४०० केभी खिम्ती–बाह्रबिसे प्रसारण लाइन अन्तिम चरणमा पुगेको छ। सम्पूर्ण टावर खडा भइसकेको र करिब एक किलोमिटर मात्र तार तान्न बाँकी रहेको छ। सुरुमा यो लाइनलाई २०० केभीमा चार्ज गरी राष्ट्रिय ग्रिडमा समावेश गरिनेछ।
कार्यकारी निर्देशक घिसिङले निर्माणलाई संवेदनशील मान्दै तत्काल आवश्यक समन्वय गरी तीव्र रूपमा अघि बढाउन निर्देशन दिएका छन्। हिउँदयाममा विद्युत् आपूर्ति व्यवस्थापनका लागि यी आयोजनाको समयमै सम्पन्न हुनु अत्यावश्यक रहेको प्राधिकरणले जनाएको छ।