बैंकिङ प्रणालीबाट ४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (आइतबार) बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। बैंक तथा वित्तीय संस्थाहरूमा तरलता थुप्रिएपछि केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत यो रकम खिच्न लागेको हो।

पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप वृद्धि भए पनि कर्जा माग सुस्त हुँदा तरलता बढेको छ। यस्तो अवस्थामा, राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट सस्तो ब्याजदरमा निरन्तर तरलता संकलन गरिरहेको छ।

राष्ट्र बैंकका अनुसार आज दिउँसो ३ बजे निक्षेप संकलनका लागि बोलकबोल हुनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणात्मक भागमा बोलकबोल गर्न सक्नेछन्।

बोलकबोल ब्याजदरमा हुनेछ र बहुब्याजदरमा पनि भाग लिन सकिने व्यवस्था गरिएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

राष्ट्र बैंकले यो निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी चैत २४ गते गर्ने जनाएको छ।