

काठमाडौं । तनहुँमा बारीमा उम्रिएको जंगली च्याउ खाँदा एकै परिवारका १० जना बिरामी परेका छन्।
म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरले बारीमा टिपेको च्याउ ब्यास नगरपालिका–६ शान्ति टोलस्थित उनका मामा ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा पुर्याएका थिए।
फागुन १ गते राति साढे ११ बजे पुलामीको घरमा पकाएर खाएपछि उनीहरू बिरामी परेका हुन्। प्रहरीका अनुसार सबैलाई शनिबार बिहान ७ बजे दमौली अस्पतालमा भर्ना गरिएको छ।
बिरामी पर्नेहरूमा गुरुबहादुर पुलामी, उनका छोरा सुरेन्द्र पुलामी, भान्जा नारायण मगर, ज्वाइँ लितबहादुर थापा, साथै आफन्तहरू केशव पुलामी, सीता पुलामी, सुमित पुलामी, चक्रबहादुर पुलामी र आरती पुलामी रहेका छन्।
उनीहरूलाई रिंगटा लाग्ने, बान्ता हुने र पखाला लाग्ने समस्या देखिएको छ।