मैले कुनै सरकारी जग्गा कब्जा गरेको छैन : केसी

मैले कुनै सरकारी जग्गा कब्जा गरेको छैन : केसी

काठमाडौँ । चिकित्सक सङ्घका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले आफूले कुनै सरकारी जग्गा कब्जा नगरेको दाबी गरेका छन्।

तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित लोकतान्त्रिक चोकमा रहेको सरकारी जग्गा ओगटेको विषय सार्वजनिक भएपछि शनिवार उनले स्थानीय जनप्रतिनिधिहरूसहित पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो सार्वजनिक छवि बिगार्नका लागि आफूमाथि आरोप लगाइएको भन्दै कुनै सरकारी जग्गा कब्जा नगरेको स्पष्ट पारे।

उनले आफूलाई सम्बन्धित कित्ता नम्बर ६२ आफ्नो नाममा र अर्को कित्ता नम्बर ६२ सरकारको नाममा रहेको बताए। डा. केसीले सरकारी जग्गामा आफूले भोगचलन नगरेको समेत स्पष्ट पारे। उनले भने, “कित्ता नम्बर ६१ मेरो श्रीमतीको नाममा रहेको र त्यसलाई सार्वजनिक सडकमा हालेर सट्टापट्टा गरेर कित्ता नम्बर ६२ मेरो नाममा कायम भएको हो।”

साथै, डा. केसीले अब सरकारको नाममा रहेको जग्गा नचाहिने र त्यसको दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे। केही दिनअघि प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठ र शिशिर खनालले लोकतान्त्रिक चोकको जग्गा कांग्रेस नेताले कब्जा गरेको आरोप लगाएका थिए। डा. केसीले आफूमाथि लगाइएको आरोपप्रति आफू नडराउने स्पष्ट पारे।