गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन

गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि गर्दै गरिबी निवारणलाई पहिलो प्राथमिकता दिन राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित छलफलमा प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका कामहरू लगभग पूरा हुने चरणमा रहेकाले अब सीप विकास, उद्यमशीलता, रोजगारीका अवसर सृजना तथा कृषि क्षेत्रको उत्पादन र लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले भने, “जनतालाई सबल बनाउने बाटो लिनुपर्छ। सहयोग मात्रै पर्याप्त हुँदैन, उत्पादन र आत्मनिर्भरता बढाउनु जरुरी छ। जनतालाई कर्मशील बनाउन प्रेरित गर्नुपर्छ, गरिबी निवारणका उपाय पहिचान गर्दै मौलिक हकको उपयोग गर्न पाउने आधार तय गर्नुपर्छ। मन्त्रालयहरूले उत्पादन र उत्पादकत्व वृद्धि गर्ने ठोस योजना ल्याउनुपर्छ, जसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ।”

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजना प्रभावकारी रूपमा अनुगमन–मूल्यांकन गर्ने, उद्यमशीलता विकास गर्ने तथा जनताको सेवा प्रवाह एवम् सुशासनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने भन्दै आयोगका पदाधिकारीलाई जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गरे।