

काठमाडौं । युगान्डामा जारी उमन्स डे कप टी-२० क्रिकेट प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको छ । तर, यो जितसँगै पनि नेपाल फाइनल दौडबाट बाहिरिएको छ ।
हङकङले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा १०४ रन जोड्यो । जवाफमा नेपालले १९.३ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
नेपालका लागि ओपनर सम्झना खड्काले ४७ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरिन् । उनले ४३ बल खेल्दै ३ चौका प्रहार गरिन् । कप्तान इन्दु वर्माले ३२ बलमा १८ रन, जबकि पूजा महतो २६ बलमा २० रन बनाएर अविजित रहिन् । नेपालले आज पनि २ ब्याटर रनआउटको रूपमा गुमायो – रोमा थापा र विन्दू रावल दुबै ४ रनमै रनआउट भए ।
बलिङमा नेपालका लागि राजमती ऐरीले ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरिन् । उनले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिइन् । कप्तान इन्दु वर्माले ४ ओभरमा १२ रन खर्चेर २ विकेट झारिन्, भने पूजा महतो र ईश्वरी विष्टले १-१ विकेट लिए ।
हङकङका लागि ओपनर साहजीन साहजादले ५४ रनको अर्धशतकीय पारी खेल्दै टिमलाई सम्मानजनक स्कोरमा पुर्याएकी थिइन् ।