काठमाडौं । लगातार सात दिनको गिरावटपछि सेयर बजार बुधबार सुधार हुँदै १७.२८ अंकले बढेको छ । यो वृद्धिपछि नेप्से परिसूचक २७३६ अंकमा पुगेको हो ।
आज कारोबारका क्रममा दिउँसो १२:४२ बजे बजार २७४५ अंकसम्म उक्लिएको थियो । तर, बजार बढ्दा पनि कारोबार रकम सामान्य रूपमा घटेको देखियो । अघिल्लो दिन ८ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएकोमा आज ८ अर्ब २३ करोड रुपैयाँमा सीमित रह्यो ।
धेरैजसो सेक्टर हरियाली देखिए । बैंकिङ ०.५३, फाइनान्स ०.०२, होटल तथा पर्यटन ०.६४, हाइड्रोपावर ०.८५, लगानी १.७६, जीवन बीमा ०.६४, उत्पादन ०.१८, निर्जीवन बीमा ०.४०, अन्य १.५७, र व्यापार समूह ०.२१ प्रतिशतले बढे । तर, माइक्रोफाइनान्स ०.२७ र विकास बैंक ०.३३ प्रतिशतले घटे ।
आजको कारोबारमा पिपुल्स हाइड्रोपावरको मूल्य ९.७९ प्रतिशतले वृद्धि भयो । प्रभु इन्स्योरेन्स ७.८९, दिव्यश्वरी हाइड्रोपावर ७.६७, घलेम्दी हाइड्रोपावर ६.७१, तथा मनकामना इन्जिनियरिङ हाइड्रोपावर ६ प्रतिशतले उकालो लागे ।
तर, विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशतले घट्यो । कर्पोरेट डेभलपमेन्ट बैंक ४.३१ प्रतिशत, ग्रीन डेभलपमेन्ट ३.८ प्रतिशतले कमजोर देखिए ।
कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक संस्थापक, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, घलेम्दी हाइड्रोपावर, र नेपाल पुनर्बीमा कम्पनी क्रमशः शीर्ष स्थानमा रहे ।