काठमाडौं । चर्चित नृत्य कलाकार तेरिया फौजा मगर अब नेपाली चलचित्रमा देखिने भएकी छन् । उनी नयाँ नेपाली चलचित्र ‘मितज्यू’ मा अभिनेता दयाहाङ राईसँग स्क्रिन सेयर गर्दैछिन् ।
अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको यस चलचित्रमा तेरिया र दयाहाङ मुख्य भूमिकामा अनुबन्धित भएका छन् । भारतीय रियालिटी शो ‘डान्स इन्डिया डान्स लिल मास्टर्स’ सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता तेरियाले यस चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यु गर्न लागेकी हुन् ।
उनले यसअघि भारतीय वेब सिरिज ‘उनकी यारी’ र ‘क्याम्पस बिट्स’ मा अभिनय गरिसकेकी छन् । ‘मितज्यू’ को निर्माण जनक घर्ती मगरले गर्नेछन् । यसै निर्माण समूहको चलचित्र ‘घरज्वाइँ’ मा पनि दयाहाङ राई प्रमुख भूमिकामा थिए ।
‘मितज्यू’ ले आदिवासी जनजाति समुदायमा प्रचलित मित परम्पराको कथा भन्नेछ । चलचित्रको कथा महेश राईले लेखेका हुन् । निर्माणपक्षका अनुसार चलचित्र आगामी वर्ष २०८२ को चैत २७ गते प्रदर्शन हुनेछ ।