

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सुशासन र समृद्धिको मार्गमा तीव्र गतिमा अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
कोशी प्रदेशसभामा विशेष सम्बोधन गर्दै उनले जनताको बलिदानबाट प्राप्त संविधानको रक्षा गर्दै आवश्यकतानुसार संशोधन गर्ने स्पष्ट पारे । संविधानसम्मत रूपमा प्रतिस्पर्धा गर्न सबैलाई अवसर रहेको उल्लेख गर्दै उनले व्यवस्थाविरोधी आवाज उठाउनु आवश्यक नभएको बताए ।
‘हामी केवल गरिबी हटाएर सन्तुष्ट हुने होइन, नागरिकको समग्र जीवनस्तर सुधार गर्दै मुलुकलाई अघि बढाउन चाहन्छौँ,’ उनले भने, ‘रोजगारीका अवसर सिर्जना गर्न, उद्यमशीलतालाई प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ । त्यसैले, देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो ।’
प्रधानमन्त्री ओलीले संघीय संरचनाअनुसार तीन तहका सरकारले सहकार्य गरी मुलुकको विकासमा जुट्नुपर्नेमा जोड दिए ।
‘हाम्रो विविध सांस्कृतिक, भौगोलिक र जातीय पहिचानलाई मनन् गर्दै एकता कायम गर्नुपर्छ,’ उनले भने, ‘नेपाललाई विश्व मानचित्रमा गौरवशाली, लोकतान्त्रिक र समृद्ध राष्ट्रका रूपमा स्थापित गराउन सरकार निरन्तर क्रियाशील रहनेछ ।’