काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले संसद र बाहिर सभ्य तथा सूचित बहस गर्न आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले संविधानको रक्षा र संवैधानिक संस्थाको सुदृढीकरणमा सबै दलबीच समझदारी आवश्यक रहेको बताए ।‘प्रश्न गरौं, आलोचना गरौं, तर घृणा फैलाउने काम नगरौं,’ उनले भने, ‘कुनै व्यक्तिविरुद्ध यस्तो घृणा नफैलाऔं कि त्यसले हामी सबैलाई नै असर गर्छ । प्रतिस्पर्धा सभ्य र सूचित बहसका आधारमा हुनुपर्छ ।’
सरकारलाई अहंकार नराखी प्रतिपक्षका आवाज सुन्न आग्रह गर्दै उनले भने, ‘परिवर्तनका पक्षधरहरूलाई संवाद र सत्कार्यबाट एकताबद्ध गर्न सकिन्छ । संविधानको रक्षा र षड्यन्त्रविरुद्ध कांग्रेस एमाले, माओवादी र अन्य दलहरूसँग दृढ भएर उभिन्छ ।’
उनले सरकारले नागरिक असन्तोषलाई सम्बोधन गर्नुपर्ने बताउँदै, कानुन निर्माण बृहत्तर सार्वजनिक हितका लागि हुनुपर्नेमा जोड दिए ।
‘कानुन सबैका लागि बराबर छ भन्ने विश्वास स्थापित गर्नुपर्छ,’ उनले भने, ‘सरकारले अनावश्यक हस्तक्षेप गर्नुहुँदैन । कुनै पनि विषयमा न्यायोचित निर्णय गरेर आम जनताको विश्वास जित्नुपर्छ ।’