गुल्मेली संस्कार : जीत लगत्तै प्रदीपलाई चन्द्रले टीका लगाएर दिए बधाई

गुल्मेली संस्कार : जीत लगत्तै प्रदीपलाई चन्द्रले टीका लगाएर दिए बधाई

काठमाडौं । प्रतिनिधि सभा सदस्य तर्फ उम्मेदवार उठाउने बेलैमा गुल्मी क्षेत्र नं १ मा नेपाली काँग्रेस र नेकपा एमालेले गल्ती गरेका थिए । पार्टीले जित्ने हार्ने कुरा भन्दा पनि गुल्मीका जनताले नहार्ने उम्मेदवार उठाउनु पर्नेमा यी दुई पार्टीले दुबै उम्मेदवार यस्तो उठाईदियो कि गुल्मीका जनताहरु कसलाई भोट हाल्ने भन्नेमा नै चिन्तित हुन थालेको थिए ।

स्थानीय स्तरमा घुलमिल भएका र जनताको समस्यालाई आफ्नै ठान्ने नेता चन्द्र भण्डारी र राष्ट्रिय राजनीतिमा समेत महत्वपूर्ण मानिएका र गुल्मीका जनताका लोकप्रिय नेता प्रदीप ज्ञवालीको उम्मेदवारीसँगै गुल्मीका जनताहरु भन्ने गर्थे अन्त नेता नभएर चिन्ता छ हामीलाई धेरै नेता भएर चिन्ता छ । यही चिन्ताकाबीच मतदानमा सहभागी भएका गुल्मीबासीहरुले चुनावी नतिजाको देशभरको लहर अनुरुप नै कम्युनिष्ट गठबन्धनका उम्मेदवार ज्ञवालीलाई विजयी गराईदिए ।

उनको यो विजयसँगै गुल्मीबासीले यी दुई उम्मेदवारहरुलाई एक एक पटक पालो दिने गरेको पुष्टि भएको छ । २०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा ज्ञवालीले चुनाव जितेका थिए भने २०७० सालको चुनावमा उनी भण्डारीसँग नै पराजीत भएका थिए । फेरि अर्काे ०७४ सालमा भएको चुनावमा गुल्मीबासीले ज्ञवालीलाई नै आफ्नो प्रतिनिधिको रुपमा चुनेर पठाएका छन् ।

चुनावमा हारजित हुन्छ । चुनावमा हारजीतलाई स्वीकार गर्नु एउटा राजनीतिक चरित्र हो । हो त्यही राजनीतिक चरित्रलाई खुल्ला हृदयले देखाईदिएका छन् काँग्रेस नेता चन्द्र भण्डारीले पनि । चुनावी परिणाम बाहिरिने वित्तिकै पहिले गएर भण्डारीले ज्ञवालीलाई टीका लगाएर बधाई दिएका छन् । उनले चुनावी नतिजा जे भएपनि अबको कार्यकालमा ज्ञवालीको सफलताको कामना गरेका थिए । उनले आफ्नो आगामी ५ वर्षसम्म ज्ञवालीलाई पूर्ण सहयोग मिल्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।

उता विजयी भएका एमाले उम्मेदवार ज्ञवालीले पनि जीत पछि ट्वीटरमार्फत्चन्द्र भण्डारीलाई विशेष धन्यवाद दिएका छन् । उनले ट्वीटरमा लेखेका छन् ‘गुल्मी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्नुभएकोमा सबै मतदाताहरूमा आभार व्यक्त गर्दछु । स्थिरता र समृध्दिका पक्षमा प्रकट यस अभिमतलाई सधै शिरमा राख्नेछौं । स्वस्थ प्रतिस्पर्धाका लागि मित्र चन्द्रजीलाई धन्यवाद, सहकार्यको अपेक्षा ।’