योगी आदित्यनाथको पोस्टर बोकेको विषय कानुनी दायरामा ल्याउनुपर्छ : महेश बर्तौला

योगी आदित्यनाथको पोस्टर बोकेको विषय कानुनी दायरामा ल्याउनुपर्छ : महेश बर्तौला

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमा संविधानविरोधी गतिविधिहरू भइरहेको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बर्तौलाले पूर्वराजा शाहको उपस्थितिमा राष्ट्रिय गानको अवमूल्यन गरिएको बताए। “उहाँको निर्देशन र उक्साहटमा संविधानविपरीतका कार्य भइरहेका छन्। पञ्चायतकालीन राष्ट्रिय गान गाउने, मुलुकको राष्ट्रिय गानको अवमूल्यन गर्ने खालका गतिविधि भएका छन्,” उनले भने।

बर्तौलाले आइतबार पूर्वराजा शाह पोखराबाट फर्किने क्रममा काठमाडौंमा भएको र्‍यालीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पोस्टर देखिनु राष्ट्रहितविपरीत भएको बताए। उनले यस्ता गतिविधिलाई सरकारले गम्भीर रूपमा लिएर कानुनी दायरामा ल्याउनुपर्ने माग गरे।

“भारतीय जनता पार्टीका नेता उत्तर प्रदेशका मुख्यमन्त्रीको ब्यानर र पोस्टरसहित र्‍याली भएको देख्यौँ। यस्तो कार्य राष्ट्रहित प्रतिकूल छ, त्यसैले यसलाई कानुनी दायरामा ल्याउनु जरुरी छ,” उनले भने।

सांसद बर्तौलाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने स्पष्ट गर्दै संग्रहालयमा थन्किएको राजतन्त्रले दिवास्वप्न देख्न नहुने टिप्पणी गरे।