मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धनस्थानको चन्द्रमाका साथमा साताको प्रारम्भ हुने भएकाले कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । नातेदार र कुटुम्बले काममा सहयोग गर्नेछन् । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । व्यापार गर्नेले पनि सोचेजस्तै लाभ लिन सक्नेछन् । आर्थिक लगानी हुनेछ । साताको मध्यभाग प्रयाससाध्य समय रहने छ धैर्य गर्नुहोला । उक्त समयमा कृषि वा श्रममूलक कार्यतिर मन जानेछ । बिहीबार र शुक्रवार घरायसी कामधन्दा र पारिवारिक आवश्यकता पूर्तिका लागि खट्नु पर्ने छ । छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद पनि हुनसक्छ । प्रेमसम्बन्ध र रतिरागका कारण निराशा भोग्नु पर्ने समय रहने छ, त्यस्तै सन्तानपक्षको मायामा कमी आउने छ । समग्रमा यो साता राम्रै समय छ, विद्यार्थीहरुले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउने समय हो । अन्य सबैका लागि भौतिक सुविधाको दीर्घकालिक जोहो गर्ने अवसर र मौका देखापर्ने छ । मूलरूपमा चिन्तन र बौद्धिकताको क्षेत्रमा राम्रो छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेमको बन्धनमा बाँधिने समय आएको छ । सुरुमा आफ्नै राशिमा चन्द्रमा रहने भएकाले के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ । तर समग्रतामा आम्दानीमा कमी हुने छैन । शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ, चिताएभन्दा बढी कमाउने योग छ । साताको अन्त्यमा सामाजिक काममा संलग्न हुनु पर्नेछ । धार्मिक वा सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । तर आगामी शनिवारका दिन घरमा बस्नेले अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन् । नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । समग्रतामा यो साता उत्साहवर्द्धक नै देखिन्छ, समयलाई उपयोग गर्नसके राम्रो फाइदा लिन सकिने साता छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बाह्रौं भावमा रहेको चन्द्रमाका साथमा साताको प्रारम्भ भएकाले छर–छिमेकमा असमझदारी बढ्ने तथा प्रतियोगिता र प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्ने समय छ होस राख्नुपर्छ, संयमता र धैर्यतालाई त्याग्नु हुँदैन । घरायसी मामिलामा पनि समय दिन नसक्नाले केही केही धमिलोपन आउन सक्छ । खर्चिलो समय रहने छ, बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम पनि बन्ने सङ्केत छैन । त्यसैले आइतवार र सोमवारका दिन धैर्यले काम लिने समय छ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । मङ्गलबारपछि साताको उत्तरार्द्ध शुभफलदायक रहने छ, कुनै नयाँ उद्योगधन्दा वा व्यवसायको थालनी गरेमा व्यवहारिक रूपमा फाइदा पुग्नेछ । परदेश वा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । उपलब्धीमूलक यात्रा हुने योग छ, साताको अन्त्यमा सम्पति प्राप्त गर्ने सम्भावना पनि देखिन्छ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने त्यसका लागि यो साता उत्तरार्द्ध अनुकूल समय रहने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुने समय छ । मेवा मिष्टान्न परिकार मिल्नेछ, भेटघाट र घुमघाममा समय यापन हुनेछ । नातागोता र भाइबहिनीका तर्फबाट मानसम्मान र खुसीको खबर प्राप्त हुनेछ । जागिरेले राज्यपक्षबाट सम्मानित हुने अवसर पाउने छन् । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा राम्रो छ । व्यवसायिक क्षेत्रमा बोलीको कदर हुने समय छ । वाणि र व्यवहारप्रति विपरीत लिङ्गीको आकर्षण बढ्नेछ । जोस र जाँगर बढ्नेछ । धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । भौतिक सम्पत्तिको जोहो हुनेछ । तर मङ्गलबारदेखि बिहीवारसम्म सुखी जीवन व्यतीत गर्न मन लालायित बन्नेछ, भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ । साताको मध्यभागमा अभिभावक वर्गसँगको सम्बन्धमा तिक्तता आउन सक्छ । घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । त्यसैले यो साता क्रोध, प्रतिशोध, रिसराग, उत्तेजना र महत्त्वाकाङ्क्षामाथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कर्मशील समय छ । मातापिता, गुरुजन र अभिभावकवर्गको साथसहयोग र सहानुभूति प्राप्त हुनेछ । पेसागत उन्नति वा व्यवसायका सिलसिलामा लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । साताको मध्यभाग भेटघाट र मनोरञ्जनमा समय व्यतीत हुनेछ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । समाजमा बुद्धिको प्रशंसा हुनेछ । घरपरिवार र नातेदारमा सुमधुर सम्बन्ध कायम हुनेछ । तर साताको अन्त्यमा बाह्रौं चन्द्रमाको प्रभावले खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ । लामो दूरीको यात्रा हानीकारक बन्नसक्छ । तर समग्रतामा यो साता नराम्रो छैन, महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । घरायसी वातावरण आफ्नै पक्षमा रहनेछ । सालाखाला राम्रो परिणाम प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भाग्यस्थानमा रहेको चन्द्रमाका साथमा यो साताको प्रारम्भ भएकाले शुभ र लाभमूलक परिणाम प्राप्त हुने साता रहेको छ । इष्टमित्रले तपार्इंको प्रशंसा गर्नेछन् । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । अप्रत्याशित काम बन्ने योग छ । इच्छाएको जिम्मेबारी प्राप्त हुनसक्छ । साताको मध्यभागमा कर्मप्रति अनुरक्त हुने समय रहने छ, पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले कुनै महत्त्वपूर्ण काम बन्न सक्छ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । यद्यपि आगामी शनिवार अनुकूल रहने छैन, शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ, खर्चको मात्रा बढ्न सक्छ । सारांशमा यो साता उत्तम समय नै छ, यो समय विगतका कमीकमजोरी सम्झने समय होइन । खासगरी यतिबेला तपार्इंलाई नै भनेर कुनै ठूलो सहयोग सद्भाव मिल्न कठिन छ तर गरेका काममा सफलता भइछाड्ने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा नै अष्टम भावमा चन्द्रमा रहने भएकाले यो साता कुनै पनि जोखिम र सङ्कट मोल लिने समय होइन । स्वास्थ्यका क्षेत्रमा लापरवाही गर्नु हुँदैन, खासगरीे पाचन प्रणालीमा आएको खराबीले तपाईंलाई निराश तुल्याउन सक्छ । त्यस्तै सवारी चलाउँदा, बाटो काट्दा र हातहतियारको प्रयोग गर्दा ख्यालख्याल नठान्नु होला । मानसिक रूपले पनि निराशाजनक समय हुनेछ, बौद्धिक र प्राज्ञिक क्षेत्रमा समेत खिन्नता बढ्नेछ । साताको अन्त्यसम्ममा हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । भविष्यमा फाइदा हुने विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ । बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । अपूरा कार्य पूर्ण हुनेछन् । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्नेछ र त्यस पाटोका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समग्रमा यो साता स्वास्थ्यमा अचानक सानो समस्या देखिन सक्छ, तर डराइहाल्नु पर्दैन । आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिश्रित प्रभाव भएको साता छ, त्यसैले दिनचर्यामा आकस्मिक रूपमा उतारचढाव आइरहन सक्छ, साताको प्रारम्भ आनन्द, रमणीयता र रमझमका लागि उत्तम समय रहने छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । तर साताको मध्यभागमा अष्टम भावमा चन्द्रमा रहने भएकाले हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । मङ्गलवार र बुधवार स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना पनि देखिन्छ । बोलेको कुराले पनि विपरीत अर्थ प्रदान गर्न सक्छ । साताको अन्त्य राम्रै छ । इष्टमित्रको शुभकामना प्राप्त गर्न सकेमा शुभफल प्राप्त हुनेछ । समग्रतामा यो साता व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, चिन्तनमूलक काम र अध्ययन, अध्यापन एवं लेखनका क्षेत्रमा बाधा छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले थोरै तनावको सामना गर्नुपर्ने छ । जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आफूमुनिका नातेदार वा बालबच्चासित राम्रो व्यवहार गर्नुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
त्यति अनुकूल समय देखिंदैन । प्रारम्भमा छैटौं चन्द्रमाको प्रभावले दृष्टिशक्तिमा कमी आउन सक्छ । विविध व्यवहारिक समस्याले उन्नतिप्रगति र कामधाममा अवरोध आउन सक्छ । शरीरमा झिनामसिना आन्तरिक रोगव्याधि, पाचनप्रणाली र नसासम्बद्ध रोगले दुःख दिनसक्छ । साताको मध्यभागमा मन आनन्दका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । प्रेमसम्बन्धमा सुधार आउने छ । कामको चाप र दायित्व बढ्नेछ । शरीर फुर्तिलो रहनेछ, जोस र जाँगर बढ्नाले आम्दानीमा समेत बढोत्तरी हुनेछ । अभिभावकवर्गको आशीर्वाद प्राप्त हुनेछ । राम्रो समाचार सुन्न पाउनु हुनेछ । तर बिहीबारपछि अष्टम भावको चन्द्रमाले स्वास्थ्यमा बाधा हुनसक्ने समय छ, सानोतिनो चोटपटक नै पनि लाग्न सक्छ, सचेत एवं सावधान रहनु पर्छ । तर आगामी शनिवारका दिन भाग्यभावमा रहने चन्द्रमाको प्रभावले लामो दूरीको यात्रामा निस्कन वा यातायातको साधन किन्न अनुकूल हुनेछ । धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भुमिका रहनेछ । टाढा रहेका आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनु हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
यो साता घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पढाइमा प्रगति हुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो भने उसले लाभ पाउने छ । आगामी बिहीवार र शुक्रवार प्रेमिल समय छ, मन रोमाण्टिक बन्नेछ, मायाप्रेम र भावनात्मक क्रियाकलापमा समय व्यतीत हुनेछ । विछोड भएका प्रेमीप्रेमिकाको मिलन हुने साता छ, विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । सन्तानपक्षको राम्रो माया मिल्नेछ । तर आगामी शनिवार गर्नु नपर्ने कामबाट जोगिने बेला हो, छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । समग्रमा मिश्रित प्रभाव भएको साता छ, खासगरी मङ्गलवार र बुधवार षष्ठ भावको चन्द्रमाको प्रभावले प्रतिस्पर्धीहरूले औंला ठड्याउने अवसर पाउने छन् । कुनै कुराले विचलित गराउनुका साथै अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु बेस हुनेछ । यो साता विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
यो साता युवायुवतीले कल्पना र भावुकतामा रमाउँदा रमाउँदै समय गएको पत्तो पाउनुहुन्न, तर जोसँग जतिबेला बोले पनि बडो विचार पुर्याएर मात्रै बोल्नु राम्रो हुनेछ । साताको प्रारम्भमा नै घरायसी समस्याका कारण घरबाहिर जानुपर्ने सम्भावना देखिन्छ । कामधन्दा र पारिवारिक समस्यामा केन्द्रित हुनाले फुर्सद निकाल्न सकिंदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । साताको मध्यभागमा छात्रछात्राले राम्रो उपलब्धी हासिल गर्न सक्नेछन् । स्वास्थ्यमा देखापरेका समस्या निराकरण हुनेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । साताको अन्त्यमा भोगविलासमा आकर्षण बढ्ने छ, विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ । तर्क, विवाद र झैझगडाबाट टाढा रहनु राम्रो हो । साता मिश्रित फलदायी रहे पनि समग्रमा यो साता सोचेजस्तै सफलता प्राप्त हुनेछ । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि अनुकूल साता छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पराक्रम स्थानमा रहेको चन्द्रमाका साथमा यो साताको प्रारम्भ भएको छ, सुरुमा नै विगतका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । दीर्घकालिक योजनालाई मूर्त बनाउन चिन्तन महत्त्वपूर्ण बन्न सक्छ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने छ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ । बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । भाइबहिनी र छोराछोरीले सहयोग गर्नेछन् । साताको मध्यभागमा चतुर्थ भावको चन्द्रमाको प्रभावले घरगृहस्थीमा धेरै समय खर्चनु पर्नेछ । वैदेशिक रोजगारी गर्नेेहरूले घरायसी कुरा सम्झेर समय बिताउने छन् । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । उता आगामी शनिवारका दिन काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न समस्याहरू आइलाग्न सक्छन् । झिनामसिना कामका लागि पनि निक्कै खट्नु पर्छ । उक्त दिन मुद्दामामिला र झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ । समग्रमा यो साता आफ्नै विवेक र निर्णयमा गरिएको कामबाट दीर्घकालिक लाभ हुनेछ ।
(सहप्राध्यापक कृष्णप्रसाद कोइरालाले लेख्नुभएको राशिफल ज्योतिष साथीबाट लिएका हौं ।)