निरन्तर छैठौँ कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

निरन्तर छैठौँ कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं । सेयर बजार सोमबार पनि गिरावटमा रह्यो। अघिल्लो दिन ४६ अंकले घटेको नेप्से परिसूचक सोमबार थप २०.६८ अंक घटेर २७५१ बिन्दुमा पुगेको छ। योसँगै बजार लगातार छैटौं दिन ओरालो लागेको छ।

बजार घटेसँगै कारोबार रकम पनि कमी आएको छ। अघिल्लो दिन १० अर्ब ९ करोडको कारोबार भएकोमा सोमबार ८ अर्ब ३७ करोडमै सीमित रह्यो।

यस दिन ४४ कम्पनीको सेयर मूल्य बढ्दा १९१ कम्पनीको घट्यो भने ८ को स्थिर रह्यो। अन्य समूहबाहेक सबै सूचक राताम्मे बने। हिमालयन रिइन्स्योरेन्सको मूल्य १.१६% ले बढेपछि अन्य समूह ०.०८% हरियो देखियो।

अन्य सूचकहरूमध्ये बैंकिङ ०.४४%, विकास बैंक ०.७३%, फाइनान्स ०.७०%, होटल तथा पर्यटन ०.९९%, हाइड्रोपावर १.१६%, लगानी १.५१%, जीवन बीमा ०.४१%, उत्पादन १.१५%, माइक्रोफाइनान्स ०.६३%, निर्जीवन बीमा ०.६८% र व्यापार समूह १.६५% ले घटे।

नेस्डो समृद्धि लघुवित्तको १०% ले मूल्य बढ्दा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स (८.७३%), विन नेपाल लघुवित्त (८.५३%), स्वाभिमान लघुवित्त (३.०२%) र ग्रिन डेभलपमेन्ट (२.५६%) को सेयर पनि बढ्यो।

सबैभन्दा धेरै नेपाल पुनर्बीमाको ७३ करोड ५० लाख रुपैयाँको कारोबार भयो। दोस्रो स्थानमा हिमालयन रिइन्स्योरेन्स ७३ करोड १७ लाखको कारोबार गर्दै रह्यो। एनएलजी इन्स्योरेन्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र घलेम्दी हाइड्रोपावर कारोबार रकमका आधारमा उत्कृष्ट पाँचभित्र परे।