

काठमाडौं। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महिला न्यायाधीशहरू न्यायालय र न्यायप्रणालीको गौरव बन्नुपर्ने बताएका छन्।
सोमबार ललितपुरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ लाई सम्बोधन गर्दै उनले न्यायपालिकाको गरिमा अभिवृद्धिमा महिला न्यायाधीशहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे।
गौरव सहजै प्राप्त नहुने बताउँदै प्रधानन्यायाधीश राउतले न्याय सम्पादनमा अविचलित अडान राख्ने, निष्पक्षता कायम गर्ने, विवेकपूर्ण निर्णय गर्ने, र स्वच्छता अपनाउने कार्यबाट मात्रै न्यायपालिकाको प्रतिष्ठा स्थापित हुने धारणा व्यक्त गरे।
महिला न्यायाधीशहरूलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले भने, ‘महिला न्यायाधीशहरू न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्छ। म तपाईंहरूको लागि आवश्यक सहयोग गर्न कुनै कसर बाँकी राख्नेछैन।’
प्रधानन्यायाधीश राउतले न्यायिक सुधारलाई प्राथमिकतामा राख्दै न्यायालयको नेतृत्व अघि बढिरहेको उल्लेख गर्दै, न्याय सम्पादन चुनौतीपूर्ण भए पनि सुधारका प्रयास निरन्तर जारी रहेको बताए।