काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालजस्ता मुलुकहरू जलवायु परिवर्तनको कारक नभए पनि यसको ठूलो असर व्यहोर्नुपरेको भन्दै जलवायु न्यायको मुद्दा अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाउनु आवश्यक रहेको बताएका छन्।
सोमबार भौगर्भिक समाजद्वारा आयोजित नेपाल भौगर्भिक सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, र भूविपत्तिको व्यवस्थापन हालको ज्वलन्त मुद्दा भएको उल्लेख गरे।
उनका अनुसार, औद्योगिकीकरण, जीवाष्म इन्धनको दोहन, र कार्बन उत्सर्जनका कारण नेपालजस्ता विकासशील देशहरू बढी प्रभावित भएका छन्। हिमालय क्षेत्रमा हिमनदीहरू पातलिँदै गएका, हिमताल विस्फोटको खतरा बढ्दै गएको, र पहिरो तथा जलप्रकोपले बर्सेनि ठूलो जनधनको क्षति गराइरहेको उनले स्मरण गराए।
राष्ट्रपति पौडेलले नेपालका खानीखनिज, भू-विपत्तिको अध्ययन, जलवायु परिवर्तन, र भौतिक पूर्वाधार विकासमा भू-विज्ञानको प्रयोगबारे विमर्श हुने विश्वास व्यक्त गर्दै, प्राकृतिक स्रोतको उत्खनन, सदुपयोग, र लगानी प्रवद्र्धनका लागि सम्मेलन उपयोगी हुने आशा व्यक्त गरे।