काठमाडौं, १९ भदौ । साफ च्याम्पियनसिप फुटबलमा नेपालकाे सुरुवात सुखद हुन सकेन । दक्षिण एसियाली फुटबल महासंघ–साफ च्याम्पियनसिप अन्तर्गत भएको खेलमा नेपाल पाकिस्तानसँग २-१ गोलले पराजित भएको छ। उपाधि जित्ने लक्ष्य बाेकेर बंगलादेश पुगेको नेपाली फुटबल टोलीले पहिलो खेलमै हार बेहोरेको हाे । दोस्रो हाफको इन्जुरी समय सकिन ३० सेकेन्डमात्र बाँकी रहँदा सम्हालिन नसक्दा पाकिस्तानसंग नेपालले हारेकाे हाे ।
बंगलादेशमा सुरु प्रतियोगिताअन्तर्गत अाज भएको खेलमा नेपालका लागि युवापुस्ताका चर्चित खेलाडी विमल घर्ती मगरले अन्तिम समयकाे ८२ औं मिनेटमा विमल घर्ती मगरले गोल गर्दै खेल बराबरीमा ल्याए। निराजनकाे हेड बलमा विमलले वान टच भली गोल गरेका हुन् । तर विमलले खेल बराबरीमा ल्याए पनि नेपालकाे जितकालागि पर्याप्त हुन सकेन । विमलले निराजन खड्काको पासमा सिक्स यार्ड सर्कलबाट सानदार गोल गरेका थिए।
खेलको ३४ औं मिनेटमा कप्तान विराज महर्जनले डिबक्सभित्र फल गरेपछि पाकिस्तानले पेनाल्टी पायो । नेपालले सानदार खेल खेल्दाखेल्दै पनि सामान्य गल्तिका कारण पाएकाे पेनाल्टीमा पाकिस्तानका मोहम्मद रियाजले ३६औं मिनेटमा गोल गरेका थिए। अतिरिक्त समयमा नेपालविरुद्ध पाकिस्तानले गोल गर्दै २-१ को जित सुनिश्चित गरेको छ । नेपालले अब दोस्रो खेलमा सेप्टेम्बर ६ मा भुटानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल रहेको समूहमा भुटान र बंगलादेश पनि छन्। समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।