एमाले महासचिव पोखरेलले भने- ‘माओवादी नेताहरूले ८ क्विन्टल सुन तस्करी गरे’

एमाले महासचिव पोखरेलले भने- ‘माओवादी नेताहरूले ८ क्विन्टल सुन तस्करी गरे’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेको सरकारका बेला माओवादी नेताहरूले ८ क्विन्टल सुन तस्करी गरेको आरोप लगाएका छन्।

बाँकेमा आयोजित एमाले स्थानीय विकास विभागको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले सुन तस्करी लुकाउन माओवादी नेताहरूले पशुपतिमा सुन होइन, पित्तलको जलहरी राखिएको भन्दै हल्ला फैलाएको दाबी गरे।

महासचिव पोखरेलकाअनुसार, “सरकारले पशुपतिमा सुनको जलहरी लगाउने भनेर पैसा दियो, तर माओवादी नेताहरूले संसदमै पित्तलको जलहरी राखिएको भनेर हल्ला चलाए। छानबिन गर्दा सुन नै हो भन्ने प्रमाणित भयो। पित्तल भन्ने कुरा त केवल हल्ला मात्रै रहेछ, त्यो हल्ला चलाएर सुन तस्करी गर्न खोजिएको रहेछ।”

पोखरेलले माओवादी नेताहरूले अवैध रूपमा ल्याएको सुन गाल्ने मेसिन मात्रै हेर्दा पनि करिब ८ क्विन्टल सुन तस्करी भएको देखिएको दाबी गरे।

उनले माओवादीलाई हल्ला एकातिर चलाउने र आक्रमण अर्कोतिर गर्ने शैलीको पार्टी भएको आरोप लगाउँदै भने, “हिजो सशस्त्र आन्दोलनमा पनि यस्तै गरे, अहिले पनि उही शैली अपनाएका छन्।”

पोखरेलका अनुसार, माओवादी नीतिका कारण देश संकटमा परेको र त्यसबाट उद्धार गर्न कांग्रेस र एमाले मिलेको बताए। “व्यवस्थामाथि संकट आएपछि विगतमा पनि मिलेका थियौँ, अहिले पनि मिलेर रक्षा गर्छौं,” उनले भने।