काठमाडौं । एमाले रसुवा अध्यक्ष जनार्दन ढकालले पार्टी परित्याग गरेका छन् । पार्टी नेतृत्वको कार्यशैली र तरिका मन नपरेकाले आफूले पार्टीको जिल्ला अध्यक्ष र संगठित सदस्यसहित सबै जिम्मेवारी छाडेको घोषणा ढकालले गरे ।
‘म अब यस्ता मान्छेहरुसँग बसेर पार्टीको कुनै पनि जिम्मेवारीमा रहन र काम काम गर्न सक्दिन’, ढकालले भने, ‘राजनीतिबाट अलग स्वतन्त्र नागरिक भएर बस्छु ।’
ढकाल ०७० सालमा भएको दोश्रो संविधानसभा निर्वाचनमा रसुवाबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए ।
माओवादी केन्द्र र बाबुराम भट्टराईको नयाँशक्ति हुँदै एमाले प्रवेश गरेका बागमती प्रदेशसभाका पूर्वसदस्य प्रेमबहादुर तामाङ हाबी भएको भन्दै ढकाल असन्तुष्ट थिए । तामाङलाई एमालेले केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ । दोश्रो संविधानसभा निर्वाचनमा माओवादी उम्मेदवार रहेका तामाङलाई ढकालले पराजित गरेका थिए ।