काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीमा महिलाको सहभागिता थप वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राजनीति, अर्थतन्त्र र समाजका हरेक क्षेत्रमा महिलाको भूमिका बढाउँदै लैजानुपर्ने बताए।
प्रवक्ता महतले भने, “समावेशी संविधानले संघदेखि स्थानीय तहसम्म महिलाको अधिकार सुनिश्चित गरेको छ। अब यो अधिकार कसैले खोस्न सक्दैन, बरु थप विस्तार गर्दै जानुपर्छ।”
उनले गठबन्धनका कारण स्थानीय तहमा महिलाको प्रतिनिधित्व कम भएको टिप्पणीबारे स्पष्ट गर्दै भने, “अब गठबन्धन भए पनि नभए पनि, मेयर वा उपमेयरमध्ये एउटा महिला हुने सुनिश्चित भइसकेको छ।”
महतले कांग्रेसले महिलालाई उपमा मात्र सीमित नराखी, निर्णय प्रक्रियामा समान अवसर दिने नीति लिएको समेत बताए।