‘दीपक मनाङे’को कैद सजायमा २० प्रतिशत छुट

‘दीपक मनाङे’को कैद सजायमा २० प्रतिशत छुट

पोखरा : जिल्ला अदालत काठमाडौंले राजीव गुरूङ उर्फ दीपक मनाङे लाई कैद सजायमा २० प्रतिशत छुट दिने आदेश दिएको छ। न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले मनाङेले फागुन १२ गते दायर गरेको निवेदनअनुसार छुट दिने निर्णय गरेको हो।

कसरी पाइयो छुट?

मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार, अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने प्रावधान छ। सोही व्यवस्थाअनुसार मनाङेले सजाय कटौती पाएका हुन्, जिल्ला अदालतका सूचना अधिकारी दीपकुमार श्रेष्ठले जानकारी दिए।

५ वर्षको सजायमा कटौती

सर्वोच्च अदालतले गत कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको कैद सजाय सुनाएको थियो। उनले २ वर्ष ८ महिना जेल जीवन बिताइसकेका कारण बाँकी २ वर्ष ४ महिना कैद भुक्तान गर्नुपर्ने थियो।

२० प्रतिशत छुट लागू भएपछि अब उनले झन्डै १ वर्ष ११ महिना मात्र जेल बस्नुपर्ने भएको छ।