पाेखरा । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेपछि भएको विवादका क्रममा दुई पक्षीय झडप भएको छ । शुक्रबार महानगरले अनुमति बेगर भूमि पुजन गर्न नदिने अडान लिएसँगै भएको विवाद झडपमा परिणत भएको हो ।
पोखरा महानगरको अनुमति बेगर सुरु भएको भूमिपुजन रोक्न कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरिएको थियो । सोही क्रममा भएको विवादमा दुबै पक्षका केही घाइते भएका छन् । फाउन्डेसनले बाराहीघाटमा कोटीहोम आयोजना गर्न लागेको छ ।
बाराहीघाटमा बाक्लो संख्यामा नगर प्रहरी र प्रहरीहरू तैनाथ गरिएको छ । पोखरा महानगरका मेयर धनराज आचार्यविरुद्ध स्थानीयले नाराबाजी गरेका छन् ।
पोखरा महानगरले कुनैपनि हालतमा लेकसाइडमा कोटीहोम हुन नसक्ने जिकिर गरेको छ । फाउन्डेसनका संस्थापक विजय भण्डारी जुनसुकै हालतमा कोटीहोम गरेरै पोखराबाट फर्कने अडानमा छन् ।