पर्यटनमन्त्री बद्री पाण्डेलाई ‘टुरिजम् मिनिस्टर अफ द एयर’ अवार्ड

पर्यटनमन्त्री बद्री पाण्डेलाई ‘टुरिजम् मिनिस्टर अफ द एयर’ अवार्ड

काठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेलाई जर्मनीको बर्लिनमा आयोजित एक अन्तर्राष्ट्रिय समारोहमा ‘टुरिज्म मिनिस्टर अफ दी एयर’ अवार्ड प्रदान गरिएको छ।

बर्लिनमा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसिएसन (पाटवा) द्वारा आयोजित ‘वर्ल्ड टुरिज्म एण्ड एभिएसन समिट–२०२५’ को अवसरमा मन्त्री पाण्डेलाई हिमालयन क्षेत्रका उत्कृष्ट पर्यटनमन्त्री का रूपमा सम्मान गरिएको हो।

सन् १९९९ देखि आईटीबी बर्लिनको वार्षिक समारोहमा प्रदान गरिँदै आएको यो प्रतिष्ठित अवार्ड पर्यटन क्षेत्रमा विशेष योगदान दिने मुलुकका मन्त्रीलाई दिइने गरिन्छ।

नेपालका लागि ऐतिहासिक सम्मान

बर्लिनमा सहभागी पर्यटन व्यवसायीहरूले नेपालका लागि यो अवार्ड ऐतिहासिक रूपमा महत्वपूर्ण भएको बताएका छन्। मन्त्री पाण्डेको कुशल नेतृत्व तथा नेपाल सरकारले अवलम्बन गरेका पर्यटन प्रवर्द्धन नीति तथा योजनाहरूको अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको उनीहरूको भनाइ छ।

नेपालको पर्यटन विकासमा पुर्‍याएको योगदानका कारण अन्तर्राष्ट्रिय स्तरमा सम्मानित गरिनुले नेपालकै पर्यटन क्षेत्रका लागि यो गौरवको विषय भएको उल्लेख गरिएको छ।

मन्त्री पाण्डेको प्रतिक्रिया

अवार्ड ग्रहणपछि प्रतिक्रिया दिँदै मन्त्री पाण्डेले “यो अवार्ड मेरो मात्र होइन, नेपालका सम्पूर्ण पर्यटन सरोकारवालाहरूको लागि सम्मान हो” भनेका छन्।

“नेपालको पर्यटन सधैं नवप्रवर्तन, सामुदायिक सहभागिता र दृढताका आधारमा अघि बढ्दै आएको छ। यो अवार्डले हामीलाई अझ दिगो र समावेशी पर्यटन प्रवर्द्धन गर्न प्रेरित गरेको छ,” उनले थपे।

मन्त्री पाण्डेले प्रविधिको विकाससँगै आर्टिफिसियल इन्टेलिजेन्स (AI) ले पनि पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको बताए। “हामी प्रविधिलाई समुदाय-केन्द्रित पर्यटनसँग सन्तुलनमा राख्दै नेपालको मौलिकता जोगाउने लक्ष्यमा छौं,” उनले भने।

समुदायमैत्री र हरित पर्यटन प्रवर्द्धन

मन्त्री पाण्डेले पर्यटनलाई समुदायमैत्री बनाउने, वातावरणमैत्री आतिथ्य अभ्यासलाई प्रवर्द्धन गर्ने, तथा हरित पूर्वाधारमा लगानी बढाउने योजनाबारे जानकारी गराए।

“हाम्रो नीति उत्तरदायी ट्रेकिङ, प्रमुख पर्यटन क्षेत्रमा फोहर व्यवस्थापन तथा सांस्कृतिक सम्पदाको संरक्षणमा केन्द्रित छ। साथै, कम चिनिएका गन्तव्यहरूलाई प्रवर्द्धन गर्दै पर्यटनबाट हुने लाभलाई समान रूपमा वितरण गर्ने हाम्रो प्रयास रहनेछ,” उनले उल्लेख गरे।

यसअघि मन्त्री पाण्डेले आईटीबी मिनिस्टर्स समिट–२०२५ मा सहभागिता जनाएका थिए। उक्त सम्मेलनमा उनले “लगानी वृद्धि, शान्ति सुनिश्चितता–विकासको उपयोग, भविष्य निर्माण” विषयक नेपाल सरकारको रणनीति प्रस्तुत गरेका थिए।