लुम्बिनीलाई विश्व शान्तिको थलो बनाउनुपर्छ – उपप्रधानमन्त्री सिंह

लुम्बिनीलाई विश्व शान्तिको थलो बनाउनुपर्छ – उपप्रधानमन्त्री सिंह

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय त्रिपिटक वाचनको उद्घाटन बुधबार गरिएको छ। उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले एक समारोहमा त्रिपिटक पाठको उद्घाटन गर्दै लुम्बिनीलाई विश्व शान्तिको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे।

अखिल नेपाल भिक्षु महासंघको आयोजनामा र लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाहरूको सहकार्यमा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचनको शुरुआत गरिएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “वर्तमान समयमा विश्वभरका अस्थिरताका कारण बुद्धको शान्ति र उपदेशले ठूलो भूमिका खेल्न सक्छ। त्रिपिटक पाठले लुम्बिनीबाट शान्तिको सन्देश पुर्याउनेछ।”

सिंहले लुम्बिनीलाई शान्ति र बुद्ध दर्शनको उत्पत्ति स्थलका रूपमा अझ बलियो बनाउन लुम्बिनी विकास कोषले पूर्वाधार र त्रिपिटक जस्ता अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले त्रिपिटक पाठलाई बुद्धका उपदेश फैलाउन महत्वपूर्ण कदम ठान्दै यसलाई अझ ठूलो संख्यामा गर्नुपर्ने आवश्यकता व्यक्त गरे। उनले धर्मनिरपेक्ष राज्यमा बौद्धमार्गीहरूको प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गरे।

त्यस्तै, कार्यक्रमका विभिन्न वक्ताहरूले लुम्बिनीलाई शान्तिपूर्ण स्थलका रूपमा विश्वभरका बौद्ध अनुयायीहरूको लागि महत्वपूर्ण स्थानको रूपमा चिनाउन त्रिपिटक पाठको महत्वको चर्चा गरे।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलामान घिसिङले लुम्बिनी क्षेत्रलाई ‘स्प्रिच्यूल लाइटिङ’ का साथ उज्यालो बनाउन प्रतिबद्धता जनाउँदै, “लुम्बिनीलाई जहाजबाट पनि प्रकट हुने गरी उज्यालो बनाउने योजनामा सहकार्य गर्न तयार छौं,” भने।

उक्त उद्घाटन समारोहमा विभिन्न देशका राजदूत, भिक्षु, लामा, तथा स्थानीय सरकारका प्रतिनिधिहरूको उपस्थिति थियो। यस अवसरमा उपप्रधानमन्त्री सिंहले त्रिपिटक पाठ संग्रह पुस्तकको विमोचन समेत गरे।

त्रिपिटक, बौद्ध धर्मको मूल ग्रन्थ हो, जसमा बुद्धका उपदेशहरू संग्रहित छन्। यो ग्रन्थ पाली भाषामा लेखिएको भएपनि विभिन्न भाषामा अनुवाद गरिएको छ र विश्वभरका बौद्ध अनुयायीहरूले यसलाई अवलम्बन गर्दछन्।

आगामी २५ गतेसम्म चल्ने त्रिपिटक पाठ समारोहमा दिनको ७:३० बजे देखि ५ बजे सम्म त्रिपिटक पाठ गर्न योजना गरिएको छ।