मानव अधिकारको रक्षाका लागि सरकार कटिबद्ध: प्रधानमन्त्री ओली

मानव अधिकारको रक्षाका लागि सरकार कटिबद्ध: प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकारको रक्षा र संविधानको मौलिक हकहरूको कार्यान्वयनका लागि सरकारले कटिबद्धता व्यक्त गरेको बताएका छन्।

मानव अधिकार रक्षकहरूको पाँचौँ राष्ट्रिय सम्मेलन र राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) को छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भने, “मानव अधिकारका लागि संघर्ष गर्ने दुई ठुला दलको सहभागितामा अहिलेको सरकार बनेको हो, जसले मानव अधिकारको उल्लङ्घन रोक्न र कानूनी शासनको पालना गर्नमा विशेष ध्यान दिनेछ।”

प्रधानमन्त्री ओलीले नक्कली मानव अधिकारको वकालत गर्नेहरूलाई समेत आलोचना गर्दै भने, “सरोकार नभएका र मर्म नबुझेर बोल्ने व्यक्तिहरूका कारण भ्रम सिर्जना भएको छ। सत्य बोल्दा मानव अधिकार रक्षकहरूलाई धम्की दिने असामाजिक गतिविधिहरू पनि देखिएका छन्।” उनले थपे, “अहिलेको सरकार मानव अधिकार हनन् गर्नेहरूसँग कठोर कानूनी कदम चाल्नेछ।”

समाजको समृद्धि र विकासका लागि मानव अधिकारको महत्त्व र संरक्षणमा सरकारको दृढ अडान व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने, “नेपालका हरेक नागरिकको जीवन सहज, शान्तिपूर्ण र विभेदरहित हुनु पर्छ।” उनले पञ्चायती शासनविरुद्धको संघर्षका शहीदहरूको सम्मान गर्दै भने, “आजको मुलुकको अवस्था शहिदहरूको बलिदानको परिणाम हो।”

प्रधानमन्त्री ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनका शहिदहरूको योगदानलाई स्मरण गर्दै भने, “मानव अधिकारको लागि संघर्ष गरेका व्यक्तिहरूको बलिदानको कारण आज हामीले यो अधिकार प्राप्त गरेका छौँ।”

समारोहमा, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले एलायन्सद्वारा पहिलो पटक स्थापित केपी शर्मा ओली मानव अधिकार तथा स्वतन्त्रता पुरस्कार वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरे।

प्रधानमन्त्री ओलीले मानव अधिकार र स्वतन्त्रता प्राप्तिका लागि कागजमा मात्र नभएर वास्तविक प्रयास र कदम उठाउने प्रकट गरेका छन्।