विपक्षीलाई सञ्चारमन्त्रीको कटाक्ष: अध्यादेशमा हामीले फूलैफूल देखेका छौं, उहाँहरूले काँडैकाँडा देख्नुभयो

 विपक्षीलाई सञ्चारमन्त्रीको कटाक्ष: अध्यादेशमा हामीले फूलैफूल देखेका छौं, उहाँहरूले काँडैकाँडा देख्नुभयो

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा सरकारले ल्याएका अध्यादेशमाथि छलफल भएको छ। विपक्षी दलका सांसदहरूले अध्यादेशका विषयवस्तु अस्वीकार गर्न विरोधका सूचना दिएका थिए।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले संसदमा जवाफ दिने क्रममा अध्यादेशको विरोध गर्ने सांसदहरूलाई विगतमा आफूहरू सत्ता पक्षमा हुँदा अध्यादेशको पक्षमा गरेको वकालत स्मरण गर्न आग्रह गरे।

“यो अध्यादेश हेर्दा मलाई दुर्गालाल श्रेष्ठको गीत सम्झन्छु – ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’। उहाँहरूले काँडै-काँडा देख्नुभएको छ, हामीले फूलै-फूल देखेका छौं,” मन्त्री गुरूङले कटाक्ष गर्दै भने।

सरकारले सहकारीसहित ६ अध्यादेश ल्याएको छ। भूमिबाहेकका अन्य अध्यादेश बुधबार प्रतिनिधि सभामा निर्णयार्थ पेस गर्ने तयारी गरिएको थियो।

छलफलका क्रममा रास्वपा सांसद सुमना श्रेष्ठले नागरिक एप र डेटा सुरक्षासम्बन्धी विषय उठाएकी थिइन् भने अन्य सात जना सांसदले अध्यादेशको विरोधमा धारणा राखेका थिए।