

काठमाडौं । नेपाल पत्रकार महासंघले संघीय संसद् सचिवालयलाई पत्रकारको पास खोस्ने अधिकार नभएको भन्दै आपत्ति जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास एक महिनाका लागि निलम्बन गर्ने निर्णयविरुद्ध महासंघले विरोध जनाएको हो।
गत फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा दुई पत्रकारले प्रधानमन्त्री ओलीलाई “हिटलर प्रवृत्तिमा जाँदै हो?” भन्ने प्रश्न गरेका थिए। संघीय संसद् सचिवालयले उक्त प्रश्नलाई अमर्यादित ठहर गर्दै उनीहरूको पास निलम्बन गर्ने निर्णय गरेको थियो।
यस विषयमा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै संघीय संसद् सचिवालयको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। “पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिताविपरीत छ वा छैन भन्ने मूल्यांकन गर्ने अधिकार प्रेस काउन्सिल नेपालसँग मात्र छ। संसद् सचिवालयले पत्रकारको पास निलम्बन फिर्ता लिएर प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्छ,” महासंघको विज्ञप्तिमा उल्लेख छ।
यसैबीच, प्रतिनिधिसभाको बुधबारको बैठकमा केही सांसदहरूले पनि पत्रकारको पास खोसिएको विषयमा आपत्ति जनाउँदै निर्णय तत्काल फिर्ता गर्न माग गरेका छन्।