काठमाडौं । गृहमन्त्री रमेश लेखकले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाउन प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका छन्।
बुधबार बिहान गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरूसँगको छलफलमा गृहमन्त्री लेखकले देशभरका क्याम्पसहरूमा हुने स्ववियु निर्वाचनलाई सुरक्षित बनाउन प्रभावकारी रणनीति अपनाउन आग्रह गरे।
उनले प्रत्येक जिल्लाका प्रहरी कार्यालयहरूमा समन्वय अधिकारी तोकेर सुरक्षा संयन्त्रलाई सशक्त बनाउन र प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिहरूसँग समन्वय गर्न निर्देशन दिए।
“प्रहरी प्रधान कार्यालयमा निर्वाचन समन्वयका लागि विशेष टिम गठन गर्न निर्देशन दिएको छु,” गृहमन्त्री लेखकले भने, “निर्वाचन हुने जिल्लामा क्याम्पस प्रशासन, सुरक्षा संयन्त्र, र प्रमुख जिल्ला अधिकारीबीच समन्वय गरी सुरक्षित वातावरण सुनिश्चित गर्नुपर्छ।”
त्यसैगरी, नेपाल प्रहरीले निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी बलसँग समेत समन्वय गर्दै काम अघि बढाउनेछ। गृहमन्त्री लेखकले स्ववियु निर्वाचनलाई आम निर्वाचनसरह गम्भीरताका साथ लिएर सुरक्षा व्यवस्था मजबुत बनाउन आग्रह गरेका छन्।